वैशाख १ मा रिलिज हुने ‘जारी’को पोस्टर सार्वजनिक

काठमाडौं – दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।

‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म समेत हो ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मले अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने संघर्षको कथा पेस गर्छ । पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई फिल्मले प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ ।

फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । उपेन्द्र सुब्बा टेलिभिजन रियालिटी शो ‘पोएट आइडल’मा यतिबेला जजको रुपमा समेत छन् । निर्माता गुरुङको नयाँ फिल्म ‘फूलबारी’ फागुन ५ गते रिलिज तयारीमा छ । दयाहाङको समेत अभिनय रहेको फूलबारीको ट्रेलर मंगलबार सार्वजनिक हुने भएको छ ।

Got Something To Say: