लिभरपुलविरुद्ध आर्सनलको पुनरागमन जित

काठमाडौं–प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा च्याम्पियन बनिसकेको लिभरपुलविरुद्ध आर्सनलले पुनरागमन जित हात पारेको छ ।

योर्गन क्लोपले लिभरपुल सम्हालेयता आर्सनलले लिभरपुललाई हराएको यो पहिलो पटक हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले लिभरपुललाई २-१ ले पराजित गरेको हो ।

खेलको २०औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर लामो समय त्यो अग्रता टिकेन ।

३२औं मिनेटमा एलेक्जान्डर लाकाजेटले आर्सनलका लागि बराबरी गोल फर्काए । रेइस नेल्सनले ४४औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २-१ को अग्रता बनायो।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन र आर्सनलले २-१ को जित हात पारेको हो ।

हारपछि लिभरपुलले यस सिजन अब १०० अंक कटाउन नसक्ने भएको छ । ३६ खेलबाट लिभरपुलको ९३ अंक छ र अब लिगमा २ खेल मात्र बाँकी छ ।

उता जितपछि आर्सनलले ३६ खेलबाट ५३ अंक जोडेको छ र नवौं स्थानमा उक्लेको छ ।

यस्तै प्रिमियर लिगमा टोटनहमले न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ । टोटनहमका लागि ह्यारी केनले २ तथा हेउङ मिन सनले एक गोल गरे ।

न्यूकासलका लागि म्याट रिचीले एक गोल फर्काए । जितपछि टोटनहम ३६ खेलबाट ५५ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ ।

Got Something To Say: