अमेरिकन आइडलको टप २० मा नेपाली ‘हिरो’ : अथर गन

नेपाली वेबसाइट/काठमाडौं

गायक दिवेश पोखरेल ‘अथर गन’ यतिबेला अमेरिकामा आफ्नो प्रतिभाको जादू छरिरहेका छन्। विश्वमा रहेका नेपालीहरूको ध्यान आफूतिरै खिचिरहेका छन्।

नेपालमा जन्मिएर सन् २०१३ बाट अमेरिकाको कान्ससमा बस्दै आएका पोखरेल अहिले चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल–२०२०’को स्टेजमा आफ्नो प्रतिभा देखाइरहेका छन्। उनले आफ्नो स्वरको जादू संसारभर देखाइरहेका छन्।

निर्णायकहरूमाझ उत्कृष्ट गायकी प्रस्तुत गरेसँगै उनको अमेरिकन आइडलको यात्रा अझ सहज बन्दै गएको छ। १८औं संस्करणमा चलिरहेको उक्त गायन प्रतियोगितामा पोखरेल विश्वका दर्शकमाझ आशाको केन्द्र बनेका छन्।

निर्णायक लुक ब्रायनले पहिलो अडिसनमै पोखरेललाई प्रतियोगिताकै ठूलो स्टारको उपमा दिँदै प्रशंसा गरेका थिए। ब्रायनले पोखरेलको प्रस्तुति हेरेपछि भनेका थिए, ‘ऊ अमेरिकन आइडलकै ठूलो स्टार हुनसक्छ।’ प्रतियोगिताका अन्य निर्णायक केटी पेरी र लाइनल रिचीले पनि पोखरेलको गायन प्रस्तुति उत्कृष्ट रहेको र संभावना बोकेका प्रतिस्पर्धिका रूपमा तारिफ गर्न भ्याएका थिए।

साँच्चै जजहरूको मन जित्दै यतिबेला दिवेश प्रतियोगिताको उत्कृष्ट २०मा पर्न सफल भएका छन्। अप्रिल ५ अर्थात् आइतबार प्रसारणमा आएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिदैं उनी उत्कृष्ट २०मा पर्न सफल भएका हुन्। उनको प्रस्तुतिबाट सन्तुष्ट बनेका निर्णायकहरूले पनि दिवेशको प्रतिभालाई चिन्न समय नलागेको प्रतिक्रिया दिदैं उत्कृष्ट २०मा छनोट गरेका छन्।

यता, यस वर्षको अमेरिकन आइडल उनै पोखरेलका कारण नेपाली दर्शकका लागि पनि विशेष बनेको छ। यद्यपि गायक पोखरेलको आवाज श्रोता, दर्शकका लागि अमेरिकन आइडलको स्टेज नै पहिलो भने होइन। उनले यसअघि ‘न्यानो घर’, ‘मन’, ‘समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’, ‘प्रलय बी’ लगायत नेपाली गीत विभिन्न ‘अनलाइन’मार्फत् बजारमा ल्याइसकेका छन्। जसलाई पनि दर्शकले रुचाइरहेका छन्।

यसवर्षको अमेरिकन आइडलको पहिलो एपिसडबाटै निकै रुचाइएका दिवेशले आइतबारको प्रस्तुतीमा लिजेन्डरी गायक बब मार्लीको गीत गाएका थिय। कारण, दिवेशको यस अघिको प्रस्तुतीमा निर्णायकहरूले बब मार्लीको झल्को आएको प्रतिक्रिया दिएका थिए।

अमेरिकन आइडलको अफिसियल युट्युब च्यानलमा दिवेशको आवाजमा सार्वजनिक गरिएका भिडियोमा अधिकांश प्रतिक्रिया तारिफयुक्त छन्। उक्त प्रतिक्रियाका अधारमा भन्ने हो भने, दिवेशको आवाजबाट धेरै श्रोता र दर्शक लोभिएका छन्। उनको प्रस्तुती, निर्णायकहरूको प्रतिक्रिया अनि आम दर्शकको प्रतिक्रियालाई लिनेहो भने दिवेश अमेरिकन आइडलको उपाधि जित्न योग्य प्रतिस्पर्धिको रूपमा उभिएका छन्।

नेपालको काठमाडौंमा जन्मिएका दिवेश संगीतिक करियरको सपना बोकेर उच्च शिक्षाका लागि अमेरिका पुगेका व्यक्ति हुन्, जो नेपालको प्राकृतिक सौन्दर्यता र अफ्नो जन्मभूमप्रिति सधैं मोहित छन्।

Got Something To Say: