अफगानिस्तानमा कार बम विस्फोट, १७ को मृत्यु

एजेन्सी– अफगानिस्तानको लोगर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।  उक्त विस्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले युद्धविराम घोषणा गरेपछि बिहीबार भएको हो।

उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ। सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस घटनामा परी दर्जनौँ मानिस घाइते भएका छन्। उनीहरूलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ। यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन।

तालिवान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्वीकार गरेका छन्।

टोलो समाचारका अनुसार अहिलेसम्म सो हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन। तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ।

यस आक्रमणमा मृत्यु भएका व्यक्तिहरू सबै सर्वसाधारण नै रहेका अफगान सरकारको गृह मन्त्रालयले जानकारी दिएको छ।

यस आक्रमण रक्तपातपूर्ण रहेको सो मन्त्रालयले जनाएको छ। टोलो समाचारले सो हमलामा घाइते भएका अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न पनि सक्ने जानकारी अधिकारीहरूले दिएका बताएको छ।

यद्यपि लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको जनाइएको थियो।

अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको गत मङ्गलबार सङ्केत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको बताएका छन्।

Got Something To Say: