सन्यास फिर्ता लिएका मेस्सिले अर्जेन्टिनालाई जिताए कोपा अमेरिका उपाधि

काठमाडाैं- अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरेका थिए।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टिममा फर्किएका थिए ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो ।

अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

Got Something To Say: