राष्ट्रिय फुटबल टिमका खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं– राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार २९ जनामध्ये एक जना खेलाडीको पुनः परीक्षण गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको थियो।

मंगलबार संकलन गरिएको राष्ट्रिय फुटबल टिमका २९ सदस्यमध्ये २८ जनाको कोरोना रिपाेर्ट नेगेटिभ आउँदा एक सदस्यको भने किन पुनः परीक्षण गर्नु पर्ने अवस्था आयो भनेर एन्फाले खुलाएको थिएन। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एक जना खेलाडीमा कोरोना देखिएको शुक्रबार बताएका छन्। खेलाडीमा कोरोना देखिएपनि आतिहाल्नु पर्ने अवस्था नरहेको अध्यक्ष शेर्पाले जानकारी दिए।

सोमबार परीक्षण गराउने ११ खेलाडीसहित राष्ट्रिय फुटबल टिमका २५ सदस्यको कोरोना रिपोर्ट बुधबार नेगेटिभ आएको थियो। सोमबार र मंगलबार गरी राष्ट्रिय फुटबल टिमका खेलाडी, टिम अफिसियल र होस्टेल स्टाफसहित ५४ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

Got Something To Say: