एमसीसी बारे अध्ययन गर्न बनेकाे नेकपाकाे कार्यदलले आज प्रतिवेदन बुझाउदै

काठमाडौं –  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ। शुक्रवार बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो।

केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसेको र सम्भवतः आज नै बुझाउने तयारी रहेको कार्यदलका सदस्य भीम रावलले बताएका छन्। सरकार र एमसिसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए।

‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ। तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ। त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला।

प्रतिवेदन नबुझाई केके कुरा समेटिएको छ भनेर भन्न सकिँदैन’, उनले भने, ‘केन्द्रीय कमिटि बैठकले नै अध्ययनपछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ। त्यस अनुसार नै हुन्छ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र एमसिसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो। केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो। एमसीसीको मुल सम्झौतासँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए।

Got Something To Say: