शिव परियारको पहिलो गीतमा सरोज, पल, आकाश र प्रमिलाको अभिनय

काठमाडौं– गायक शिव परियारको पहिलो रेकर्डेड गीत ‘जति बिर्स्यौ तिम्रो याद’ ‘युट्युब’मा सार्वजनिक गरिएको छ।

गायक परियारद्वारा नै सङ्गीतवद्ध यो गजललाई गजलकार सुरेश वाग्लेले लेखेका हुन् । यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए भने गीत पनि उतिकै सफल बनेको थियो। ‘त्यो जमाना अडियोको थियो ।

अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो जगल हो। तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गीतकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ।’ यस्तै गायक शिव परियार पनि गीत बजारमा आँउदैगर्दा निकै उत्साहित छन्। करियरको पहिलो गीत रिमेक गरी सार्वजनिक गरिएको र नयाँ गीतले नयाँ पुस्ताको मन छुने उनको विश्वास छ। भन्छन्, ‘२०५९ यता नेपाली सङ्गीत बजारमा निकै रुचाइएको गजल सङ्गीत हामीले पुनः नयाँ रूपमा ल्याएका छौं, यसलाई अडियो र भिडियो दुवै माध्यमबाट नयाँ पुस्ताले पनि रुचाइदिनु हुनेमा विश्वस्त छौं।’

सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन्।

निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजलक्षेत्रसँग जाडिएको र पृथक इतिहाँस बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए। उनले आफ्ना अन्य सृजना जस्तै यस भिडियोलाई पनि दर्शक स्रोताले मन पराइदिनुहुनेमा विश्वास व्यक्त गरे । यस्तै भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मिठो साङ्गीतिक कोशेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विस्वास छ। ‘नेपाली वेबसाइट’को ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ।

भिडियाे

Got Something To Say: