पाकिस्तान चुकेको त्यो इनिङ

काठमाडौं– इंग्ल्यान्डले पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेट खेलमा जित हात पारेको छ। २७७ रनको सामान्य चुनौती पछ्याएको इंग्ल्यान्डले चौथो दिन नै तीन विकेटको जित निकाल्न सफल भयो।

तीन खेलको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डलाई जिताउन दोस्रो इनिङमा जस बटलर र क्रिस वोक्सले उत्कृष्ट प्रदर्शन गरे। वोक्स र बटलरले १३९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए। वोक्सले अविजित ८४ रन बनाउँदा बटलर ७५ रनमा आउट भए। त्यस्तै, कप्तान जोइ रुटले ४२ रनको योगदान दिए।

बलिङतर्फ पाकिस्तानका यसिर शाहले चार विकेट लिएका थिए। यसअघि पाकिस्तानले आफ्नो दोस्रो इनिङमा खराब ब्याटिङ गर्दै १६९ रनमै समेटिएको थियो। दोस्रो इनिङमा पाकिस्तानले राम्रो ब्याटिङ गर्न नसक्दा इंग्ल्यान्डले सामान्य चुनौती पायो। दोस्रो इनिङमा पाकिस्तानका लागि यसिर शाहले ३३ रन बनाउनबाहेक अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन्।

पहिलो इनिङमै इंग्ल्यान्डविरुद्ध १०७ रनको अग्रता बनाएको पाकिस्तानले फाइदा लिन सकेन। दोस्रो इनिङको ब्याटिङ नचल्दा पाकिस्तान हार्न पुग्यो।

इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोडले तीन विकेट लिँदा क्रिस ओक्स र बेन स्टोक्सले समान २-२ विकेट लिए। यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा २१९ रनमात्रै बनाउन सकेको थियो। निकै दबाबमा खेलेको इंग्ल्यान्डका लागि ओले पोपले सर्वाधिक ६२ रन बनाएका थिए। बलिङतर्फ यसिर शाहले चार विकेट लिँदा मोहम्मद अबास र शादब खानले समान २–२ विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले आफ्नो पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। ओपनर सान मसोदको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले ३२६ रन बनाउन सक्यो। उच्च रन बनाउने क्रममा मसोदले शतकसहित १५६ रन बनाए। यो रन उनको टेस्ट क्रिकेटमा सबै भन्दा उच्च रन हो। त्यस्तै, पाकिस्तानका लागि बाबर अजामले ६९ रन बनाए। सादब खानले ४५ रन बनाउँदा अविद अलीले १६ रनको योगदान दिए।

बलिङतर्फ इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोड र जोफ्रा आर्चरले समान ३-३ विकेट लिए। त्यस्तै, क्रिस वोक्सको नाममा दुई विकेट रह्यो। जितसँगै पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट क्रिकेट सिरिजमा १-० ले अग्रता बनाएको छ।

Got Something To Say: