अब मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन्।

मजदुर दिवसको शुभकामना व्यक्त गर्दै शनिबार  प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर  आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने प्रतिबद्धता पनि जनाएका छन्।

प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने बताएका हुन्।

उनले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गरे।

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुन:परिभाषित गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको बताएका छन्।

एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको ओलीको भनाई छ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको ओलीले उल्लेख गरेका छन्।

त्यसैगरी नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको, श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन्। ‘अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा छ,’ ओलीको सन्देशमा भनिएको छ, ‘पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ पुर्याएका छौँ। महामारीपछि अस्पतालहरुमा शय्या ३८.४ प्रतिशत थप गरिएको छ।’

यस वर्ष ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएक स्मरण गर्दै ओलीले अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

Got Something To Say: