संसदीय सुनुवाईमा तीन राजदूतहरुको सर्वसम्मत अनुमोदन

काठमाडाैं- सरकारले सिफारिस गरेको तीन जना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिको आजको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

सरकारले खड्कालाई जर्मनी, राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्तअनुसार राजदूतहरुको नाम सिफारिस नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । रिक्त रहेका सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ति गर्दा सोहीअनुसार गर्न सरकारलाई समितिले निर्देशन समेत दिएको छ ।

Got Something To Say: