‘पहिलो गाँसमै ढुङ्गा परेपनि आत्मविश्वास कहिलै डगमगाएन’– महानायक हमाल
काठमाडौं | नेपालीवेबसाइट संवाददाता – कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमालले तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन आफ्नै कथा सुनाए। जीवनका केही तीता–मिठा अनुभूति साटे। दर्शक र प्रशंसकले भरिएको राष्ट्रिय शभागृह हलले हमालको आत्मकथा गज्जबले सुन्यो। उनका भोगाई र किस्साहरू लोभ लाग्दा थिए
चलचित्रको पर्दामा राजेशको अनुहार देख्न नपाएको करिब ७ वर्षभन्दा बढी भएपनि उनलाई हेर्न साभाहल आउनेको संख्यामा कमि थिएन। महोत्सवको शेसन ‘मेरो कथा’ मा महानायक हमालको कथा विशेष बन्यो।
‘विभिन्न कार्यक्रमहरुमा आमन्त्रण हुन्छ र पुगिन्छ, तर आफ्नो कर्मको विधा र यसै सम्बन्धित् कार्यक्रममा जाँदा अनि चलचित्रको बारेमा नै कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ। कारण यो आफ्नै विधा हो,’ राजेशले स्टेजमा स्वागतको गडगडाहट ताली र सट्टिपछि आफ्नै कथा भन्न पाउनुमा गौरव गर्छन्।
‘हरेका कामको सुरुवातमा त्यही विषयमा नै केन्द्रित भइँदो रहेछ। त्यसैअनुरुप कलाकारिता सुरु गर्दापनि सबै ध्यान यही क्षेत्रमा लगाइने रहेछ। सुरुमा कोही व्यक्ति कला क्षेत्र अथवा कुनै अरु क्षेत्रमा लाग्न चाहन्छ, त्यही नै दिलो ज्यानले लागि पर्छ, चासो राख्छ। अरु क्षेत्र, विषयको बारेमा जान्न बुझ्न वास्ता गर्दैन। तर, कालान्तरमा जब त्यो व्यक्तिले पहिचान कमायो, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नाम कमाउछ, त्यसपछि उसलाई अरु विषयको बारेमा दृष्टिकोण के छ भनेर सोध्ने गरिन्छ। यो बिडम्बना हो, किनकी एउटा कलाकार पपुलारिटीको चरम सिमामा पुगेको बेलामा राजनीति, वातावरण, विज्ञान मनोविज्ञानको बारेमा सोधिन्छ। अरु कुरा बुझ्न समय नै पाएको हुँदैन। त्यसैले यहाँ आफ्नो क्षेत्रको बारेमा कुरा गर्न पाउँदा खुसी भएको छु।’ लामो गरि पेशा प्रतिको मायाँ अनि बौद्धिकतामा केन्द्रित हुन्छन् हमाल।
‘यात्रा त मेरो लामो नै छ, उमेर २१ भएपनि।’ सधैं झैं उनले उमेरमाथी जोक गर्न भ्याइहाले। थपे,‘ उमेर २१ भएपनि चलचित्र क्षेत्रको अनुभव भने ३०÷३२ वर्ष लामो छ।’ राजेशको जोक्समा दर्शकले खुब इन्जोए गरे, ताली वर्षा भयो।
स्टेजमा निमेशभरको मौनता चिर्दै हमाल बोले‘मेरो पहिलो गाँसमा नै ढुंगा परेको थियो।’
३४ वर्षअघिको कुरा हो, करियरमा पहिलो फिल्मको अवसर पाएका थिए हमालले। तर, हमालको पहिलो पाइलामा ठेस लाग्यो। छायांकनको केही प्रतिशत पूरा नहुँदै फिल्मबाट हात झिक्नु पर्ने भयो।
सोही फिल्मका निर्देशक निर्माताले नै हमालले अ अभिनय गर्न सक्दैन भनेर छायांकन पूरा नहुँदै ‘चलचित्रबाट हट्नुपर्यो’ भने। यो विषले हमालको मन दुख्यो तर आँट हारेन। आत्मविश्वास डगमगाएन।
‘उमेरले हो वा आत्मविश्वासले हो मैले जे गर्छु भनेर यहाँ आएको थिए, त्यो गरी छाडें। म आँफूमा खुबी नभएको त होइन! उहाँहरुले हेर्ने दृष्टिकोण त्यस्तो हो। मलाई आँफूमा विश्वास थियो कि, म कलाकार नै बन्ने हो। र सोही अनुरुप काम गरे,’ हमाल स्मृतीमा फर्किए ‘दुई वर्षपछि जसले मलाई काम गर्न सक्दैन भनेर फिल्मबाट निकालेका थिए उहाँहरुले नै बोलाउनु भयो। नयाँ चलचित्रमा सहकार्यका लागि।’
‘दोस्रो प्रस्तावलाई मैले स्विकार गरे, सँगै काम ग¥यौं। चलचित्र थियो, ‘युगदेखि युगसम्म।’ हमाल आफ्नो डेब्यु यात्रा सम्झन्छन्।
‘कलाकारिता यात्रा के हुन्छ भन्ने थाहै थिएन। कलाकारिता यात्रामा सफल भएका कोही उदाहरणीय व्यक्ति पनि थिएनन्। नेपाली चलचित्र क्षेत्र छ भन्ने पनि थिएन,’ फिल्म यात्रा तयगर्ने आधार नहुँदाका पल सम्झन्छन् उनी।
‘दुई/तीन वर्षमा एकपल्ट चलचित्र बन्थ्यो। अभिनय पेशा थिएन शोख थियो। दर्शकले चलचित्र मन पराएपनि अबको भविष्य के त? मश्तिकमा प्रश्नै-पश्नै बाहेक केही हुँदैन थियो’ हमाल ऊ बेलाको चुनौतिपूर्ण फिल्म यात्रा सरसर्ती सुनाउछन्।
‘जब म चलचित्र क्षेत्रमा आएँ। नेपाली चलचित्र क्षेत्रमा एक प्रकारको क्रान्ति आयो। मेरो टाउको खोजेर फिल्म निमार्ण हुन थाल्यो। यति सम्मकि, म १३ वर्ष सम्म लगातार दिनको १२ देखि १४ घन्टा काम गर्ने गर्थे,’ पूराना दिन सम्झेर उनी रोमान्टिक बन्छन्।
आफ्नो मेहनत अनि कामप्रतिको निष्ठाले नै सफलताको कडि भएको बताउने हमाल आफ्नो विगत सम्झदै सुख अनुभूत गर्छन्,‘आज सम्झदा कसरी त्यतीका वर्ष १२÷१४ घन्टा काममै खर्च गर्नसकेँ होला जस्तो लाग्छ, तर त्यो समय कर्मप्रतिको उर्जा थियो।’
विगतको सफलताले वर्तमानमा गर्व गर्न लायक रहेको र भविष्यमा पनि कलाकारितमा केही गर्ने सोच बोकेका हमाल उपयुक्त समय र कथा बस्तु मिले निकट भविष्यमा ठूलो पर्दामा देखिने छन्।
हमालेले बुधबार सभागृह हलमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गत ‘मेरा कथा’ सेसनकाे अन्त्यतिरकाे भावले यही कुराकाे संकेत गरिरेहेको थियो।
Got Something To Say:
You must be logged in to post a comment.