‘सरोवर सिन्धुली’ युवा समूहको जाडोमा न्यानो अभियान

काठमाडौं- सिन्धुली कमलामाई नगरपालिकाका युवाहरूले जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेका छन्। युवाहरूले सिन्धुलीका गरिब तथा विपन्‍नहरूका लागि न्यानो र आवश्यक कपडा वितरण गरेका हुन्।
‘सरोवर सिन्धुली’ नामक संस्थाले सिन्धुलीमाडी बजार स्थित शनिबारे हाटबाजरमा शनिबारबाट निशुल्क कपडा वितरण कार्य सुरु गरेको हो।

सिन्धुलीमा रहेको सिद्धस्थली माध्यमिक विद्यालय, सूर्योदय माध्यमिक विद्यालयका शिक्षक तथा अन्य व्यक्तिहरूको उपलब्ध साथ र सहयोगबाट गरिव तथा विपन्नहरूलाई कपडा वितरण गरिएको हो।

गरिव तथा विपन्नहरूको आवस्यकतालाई मध्यनजर गर्दै देशका अन्य विभिन्न ठाउँमा कपडा बैंकको अबधारणामा निशुल्क कपडा वितरण कार्य हुँदै आएको छ।

यद्यपि सिन्धुलीको युवा समूहले भने केही फरक अवधारणाका साथ, आफ्नै प्रयासमा सामाजिक कामको प्रारम्भ गरेको समूहकी सह–सचिव सुजिता खड्काले बताईन्।

खड्काका अनुसार न्यानो कपडा आवश्यक पर्नेले नाम रजिस्टर गरेर कपडा प्रयोग गर्न पाउने र उनीहरूको घर परिवारको आवश्यकतालाई पनि मध्यनजर गर्दै अन्य सेवापनि उपलब्ध गराउने समूहको उदेश्य छ।
भविष्यमा अन्य सेवाहरू स्वास्थ सुविधा, शिक्षा, साहित्यका क्षेत्रमा पनि काम गर्ने योजना समूहको रहेको खड्काको भनाई छ।

हालका लागि समूहले स्थानिय परिवेश सुहाउदो शनिबारे हाटका दिन कपडा वितरण गर्ने समय तालिका तयार गरेको छ। पछिल्ला दिन आवश्यक परेको खण्डमा हप्ताका अन्यबार पनि सेवा सुचारु गर्न सक्ने छ।

समूहले पहिलो दिन अर्थात् शनिबार गरिब तथा न्यानोको आवश्यक परेका २१ जनालाई कपडा वितरण गरेको छ। ९ जना सदस्यबाट सुरु गरिएको कर्ममा सहयोग गर्न चाहेमा जो कोहिले गर्न सक्ने र सामाजिक कर्ममा जोडिन सक्ने सह–सचिव खड्काको भनाई छ।

Got Something To Say: