प्रतिपक्षीदलका सभापति विदेश जाँदै, प्रधानन्यायधिसको नियुक्तिमा रोक

काठमाडौं – नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आगामी सातामात्रै बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले परिषद् बैठकको मिति पर सरेको हो ।

बैठक बुधबारका लागि तय भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को सातामात्रै बस्ने जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँबानेश्वरमा संवाददातासँग कुराकानी गर्दै मन्त्री ढकालले भने–‘प्रतिपक्षी दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।’

नेपाली कांग्रेसका सभापति देउवा स्वदेश फर्केपछिमात्रै अब परिषद् बैठक बस्नेछ ।

मन्त्री ढकालले भने–‘केही संवैधानिक निकायका प्रमुख नभएपनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ । प्रतिपक्षी दलका नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।’

मन्त्री ढकालले मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसदमा आउनेक्रम आरम्भ भइसकेको जानकारी दिँदै भने–‘चार विधेयक दर्ता भइसकेका छन् । क्रमशः दिनानुदिन प्रक्रियामा लगेर आगामी असोज ३ गतेसम्ममा मौलिक हकसँग सम्बन्धित कानुन निर्माण भइसक्छ ।’

उनले तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानुन बन्छन् कि बन्दैनन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।

‘हामी युद्धस्तरमा नै मौलिक हकसम्बन्धी कानुन निर्माणमा जुटेका छौं’–उनले भने–‘तोकिएको अवधिभित्रै सम्पन्न गर्छौं । त्यसमा सबैको साथ र सहकार्य जरुरी हुन्छ ।’ रासस

Got Something To Say: