चलचित्र ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ बजारमा (भिडियाेसहित

काठमाडौँ- यही असार २९ गते रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रमुख स्थान दिईएको छ ।

यस गीतमा चलचित्र भित्र करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरु समावेश गरिएको छ । काखे छोरी हुर्काउँदै एकल जीन्दगी बिताउनुपर्दाका विभिन्न भोगाईहरु यो गीत हेर्दा महशुस हुन्छ । अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको यो चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन् ।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

Got Something To Say: