चर्चामा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ ट्रेलर (भिडियाे)

 काठमाडाैं- दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक भयो । ट्रेलरले हालै आफ्नो जीवन त्याग गरेका सुशान्तको स्मृति उनका फ्यानमा ताजा भयो ।

जीवन अन्त्यका लागि ‘आत्महत्या’ को बाटो रोजेका अभिनेता सिंहको अन्तिम चलचित्र दिल बेचारामा भने जीवनको कुरा गरिएको ट्रेलरमा स्पष्ट हुन्छ ।

ट्रेलरमा सुशान्तले भनेका छन्, ‘जन्म कहिले लिने र मृत्यु वरण कहिले गर्ने भन्ने हामीले निर्धारण गर्न सक्दैनौँ तर कसरी बाँच्ने भन्ने चाहिँ निर्धारण गर्न सक्छौँ ।’ तर सुशान्त आफैले भने मृत्युको पनि समय आफैले निर्धारण गरे ।

‘फल्ट इन आवर स्टार’ पुस्तकमा आधारित चलचित्र ‘दिल बेचारा’ को ट्रेलरको प्रशंसा भइरहेको छ । ट्रेलर अहिले ट्रेन्डिङ्गमा छन् । जुलाई २४ देखि सो चलचित्र डिज्नी प्लस र हटस्टारमा हेर्न पाइने छ।

चलचित्रका निर्देशक मुकेश छाबडाले सामाजिक सञ्जालमा एक पत्र पोस्ट गरेर यो चलचित्र दर्शक सामु ल्याउनका लागि दुई वर्ष पर्खनु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो चलचित्रको ट्रेलर आज सार्वजनिक भयो । मलाई खुशी लागेको छ कि यो चलचित्रका लागि तपाईँले सब्सक्राइब गर्नु पर्ने छैन, सबैले यो चलचित्र हेर्न पाउने छन् ।’

संगीतकार एआर रहमानले ट्वीट गरेका छन्, ‘दिल बेचाराको ट्रेलर आयो । यो प्रेम कहानीको मजा लिनु होला ।’

कलाकार नवाजुद्दीन सिद्दिकीले लेखेका छन्, ‘राम्रो ट्रेलर, पक्कै हेर्नु होला । यसमा सुशान्त सिंह राजपुतको काम राम्रो छ ।’

अभिनेता विद्युत जामवालले सुशान्तका फ्यानसँग अपिल गरेका छन् कि यो चलचित्र हेर्नका लागि ।

ट्वीटरमा एकजनाले लेखेका छन्, ‘राब्ता र दिल बेचारा दुवैको ट्रेलरमा यो लाइन छ… एक था राजा एक थी रानी दोनों मर गए खत्म कहानी । सुशान्तले यो लाइन भन्दा सबै उनीसँगै जोडिए जस्तो लाग्छ ।’

Got Something To Say: