अमेरिकामा बन्दुक आक्रमण: २० को मृत्यु २६ घाइते

काठमाडाैं- अमेरिकाको टेक्सासस्थित वालमार्टको स्टोरमा एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा २० जनाको ज्यान जानुका साथै २६ घाइते भएका छन्।

टेक्सासको दक्षिणी भागमा पर्ने अल पासोमा रहेको वालमार्टको स्टोरमा किनमेल गर्न आएका मानिसहरुको भिडमा बन्दुकधारीले गोली चलाएका थिए। घटना भएको समयमा वालमार्ट स्टोरभित्र तीन हजारको हाराहारीमा ग्राहक भएको बताइएको छ।

अमेरिकामा एक साताभित्र वालमार्टको स्टोरमा भएको यो दोस्रो बन्दुक आक्रमणको घटना हो। गत सप्ताहन्तमा क्यालिफोर्नियामा पनि एक बन्दुकधारीले यस्तै आक्रमण गरेका थिए।

टेक्सास घटनामा पुलिसले शंकास्पद एकजना २१ वर्षे युवालाई नियन्त्रणमा लिएको छ भने स्थानीय प्रशासनले बन्दुकधारीले लेखेको आशंकामा एक अतिवादी पत्रमाथि अध्ययन गरिरहेको जनाएको छ।

घटनास्थलमा मानिसका लास छरपष्ट भएका मोबाइल फोनबाट खिचिएका फुटेजहरु अहिले सामाजिक सञ्‍जालमा भाइरल भइरहेका छन्।

अल पासोको प्रशासनले घाइतेहरुको उपचारका लागि ठूलो मात्रामा रगत आवस्यक भएको भन्दै रक्तदाताहरुलाई आह्‍वान गरेको छ।

‘२० जना निर्दोष मानिसले ज्यान गुमाएका छन्,’ टेक्सासका गभर्नर ग्रेग एब्लटले भने, ‘पुलिसले संकास्पद एक जनालाई पक्राउ गरेको छ। उसको साथबाट केही कागजात बरामद भएको छ। जसबाट उ आक्रमणकारीको समूहमा भएको संकेत मिल्छ। त्यसको अध्ययन भइरहेको छ।’

घटनामा २६ जना घाइते भएका छन्। घाइतेको अस्पतामा उपचार भइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमहरुले जनाएका छन्। टेक्सासका पुलिस प्रमुख ग्रेग एलेनका अनुसार उपचार गराइरहेका घाइतेहरुमा दुई वर्षे बालकदेखि ८२ वर्षका बृद्धसम्म छन्।

Got Something To Say: