चीनका राष्ट्रपति सी चिनफिङकाे काठमाडाैंमा भव्य स्वागत (फाेटाे फिचर)

काठमाडौं- जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपति भ्रमणका लागि नेपाल आएका हुन्।

राष्ट्रपति सी लाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। राष्ट्रपति सी विमानस्थलबाट अवतरण गरे लगत्तै राष्ट्रपति भण्डारीले उनलाई स्वागत गरेकी हुन्। साेही अबसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको थियो।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थल मै सलामी अपर्ण गरेको थियो।

विमानस्थलमै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीकाे समेत उपस्थिति रह्याे। त्यसैगरी, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासहितका मन्त्रीहरु पनि उपस्थिति थियाे।

राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो ।

चिनियाँ राष्ट्रपति सीले आजै साँझ राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सीले आज साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ।

त्यस्तै चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीद्वारा आयाेजित राजकीय भोजमा सी काे सहभागीता रहने छ।

यस अबसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतबार राष्ट्रपति सी ले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता तथा नेपाल र चीनबीच हुने केही द्वीपक्षीय सम्झौताका लागि हस्ताक्षर कार्यक्रममा उपस्थिति जनाउने छन्।

तस्विर साैजन्य: रासस

Got Something To Say: