नेपालमा विद्युत पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगतिः विश्व बैंक

नेपालमा विद्युत पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति भएको विश्व बैंकको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणअनुसार नेपालका सयमध्ये ९५ घरधुरीले विद्युतको पहुँच पाएका छन्। ती घरमा विद्युतको भरपर्दो, किफायती र निर्वाध पहुँच छ। यसले विगतभन्दा अहिले यो क्षेत्रमा उल्लेखनीय प्रगति देखाउँछ।

सर्वेक्षणअनुसार विद्युत पहुँचको गुणस्तरमा प्रगति भए पनि काठमाडौंका सयमध्ये ७० परिवारले अझै खाना पकाउँदा ं प्रदूषणकारी तथा हानिकारक इन्धन प्रयोग गरिरहेका छन्।

‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय ऊर्जा सेवाको पहुँच दिनु सरकारको उच्च प्राथमिकतामध्ये एक हो। हामी ऊर्जामा पहुँच विस्तारका लागि काम गरिरहेका छौं,’ ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने।

करिब ६७ प्रतिशत घरपरिवारले दैनिक कम्तीमा आठ घन्टा बिजुली पाएका थिए। टेलिभिजनलगायत घरेलु उपकरण प्रयोगका लागि विद्युत सस्तो, भरपर्दो र अनुकूल रहेको सर्भेक्षणको ठहर छ। समग्रमा ७१.७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट बिजुली लिएका थिए भने २३ प्रतिशतले ग्रिडबाट माइक्रो वा मिनी हाइड्रो र सौर्य ऊर्जा जडान गरेका थिए।

‘सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै लगी थप प्रगति गरेको छ। सन् २०१८ देखि मुलुक लोडसेडिङमुक्त हुँदै आएको छ,’ नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच. हदाद जर्भोसले भने, ‘नेपालले हासिल गरेका यी उपलब्धी उत्साहजनक छन्, ऊर्जाको गुणस्तर सुधार्न तथा नेपाली जनताको जीवनस्तर अझै राम्रो बनाउन सरकारसँग साझेदार भएकोमा हामी गर्व गर्छौं।,’ नेपाल राष्ट्रिय ऊर्जा सर्वेक्षण ऊर्जा पहुँचसम्बन्धी विश्वव्यापी सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम (इएसएमएपी) को सहयोगमा चलाएको बहुस्तरीय फ्रेमवर्क (एमटीएफ) मा आधारित छ।

बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि खाना पकाउँदा स्वच्छ ऊर्जा मुलुकका लागि चुनौती रहेको छ।

‘आगामी दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपिजी ग्यासमा निर्भरता हट्नेछ, सरकारले सफा र स्वच्छ ‘कुकिङ’लाई जोड दिँदै हरेक घरमा एउटा बिजुली चुलो प्रदान गर्ने लक्ष्य राख्नेछ,’ वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले भने।

Got Something To Say: